पञ्चदेवलको बेहाल : अलपत्र प्राविधिक शिक्षालय, विस्कुन सुकाउने सडक र 'हाकिम' बनेका जनप्रतिनिधि

Back to Home
Advertisement Area
- हिमाल न्यौपाने
​स्थानीय सरकार बनेपछि गाउँमै 'सिंहदरबार' आउँछ भन्दा पञ्चदेवलका चोक र चौतारीहरूमा कत्रो हर्ष थियो ! तर, आज ती चौतारीहरूमा केवल निराशा र आक्रोशका सुस्केरा मात्र सुनिन्छन्। चुनावका बेला हात जोडेर घरदैलोमा पुगेका उम्मेदवारहरू आज कुर्सीमा पुगेपछि जनताका सेवक होइन, आदेश दिने 'हाकिम' बनेका छन्। पञ्चदेवल नगरपालिकाको नेतृत्वले न जनताको दुःख बुझ्न सक्यो, न त आफ्नै वाचाहरू पूरा गर्न।

​यहाँको सबैभन्दा मुटु बिझाउने दृश्य त शिक्षा क्षेत्रको छ। 'प्राविधिक शिक्षा, गाउँमै रोजगारी' भन्ने आकर्षक नारा दिएर तामझामका साथ खोलिएका प्राविधिक शिक्षालयहरूको अवस्था अहिले रुवावासी गराउने खालको छ। नगरपालिकाको चरम राजनीतिको सिकार बनेका यी शिक्षालयहरू अहिले पूर्ण रूपमा ठप्प छन्। कक्षाकोठाहरूमा न पठनपाठन छ, न त शिक्षक र विद्यार्थी नै छन्; त्यहाँ केवल ढोकामा लागेको ताला र माकुराको जालोले गिज्याइरहेको छ। बालीविज्ञान जस्ता प्राविधिक विषय पढेर आफ्नै माटोमा केही गर्छु भन्ने युवाहरूको सुनौलो सपनामाथि स्थानीय सरकारले निर्मम प्रहार गरेको छ। शिक्षा जस्तो संवेदनशील क्षेत्रलाई यसरी अलपत्र छाडेर यहाँको नेतृत्व कुन विकासको फुर्ति लगाइरहेको छ ?

​विकासको नाममा खन्याइएको करोडौं बजेटको हविगत पनि उस्तै दर्दनाक छ। कुनै दीर्घकालीन योजना र आवश्यकताको पहिचान बिना जथाभावी खनिएका सडकहरू आज गाडी गुड्न होइन, गाउँलेको विस्कुन सुकाउने आँगनमा परिणत भएका छन्। युवाहरू रोजगारी नपाएर खाडीको तातो घाममा पसिना बगाउन बाध्य छन्, तर पालिकाको 'स्वरोजगार र उद्यमशीलता' कार्यक्रम केवल कागज र ब्यानरमै सीमित छ।

​सुशासन र पारदर्शिताको कुरा त यहाँ 'आकाशको फल' जस्तै भएको छ। पहिले-पहिले गाउँमा कुलो वा मन्दिर बन्दा स्वतःस्फूर्त जुट्ने जनतालाई आज पालिकाको योजना निर्माणमा पूर्ण रूपमा निषेध गरिन्छ। स्थानीयको सहभागितालाई पूरै बेवास्ता गर्दै 'विषयविज्ञ' का नाममा बाहिरका मान्छे ल्याएर, गाउँभन्दा पर एकान्तमा गएर बजेट सक्ने र मनोरञ्जन गर्ने नयाँ परम्परा हुर्किएको छ। जनतालाई सुइँको सम्म नदिई गुपचुप रूपमा 'सार्वजनिक सुनुवाइ'को कर्मकाण्ड पूरा गरिन्छ।

​जनताले तिरेको करमाथि रजाईं गर्ने तर उनीहरूकै बालबच्चाको भविष्यमाथि खेलबाड गर्ने यस्तो कार्यशैलीले स्थानीय सरकार र नागरिकबीचको खाडल निकै गहिरिएको छ। प्राविधिक शिक्षालयमा लागेको ताला र विस्कुन सुकाउने सडकहरूले पञ्चदेवलको नेतृत्वलाई दिनहुँ प्रश्न गरिरहेका छन्। समयमै नचेत्ने र यही अवस्था रहिरहने हो भने, जनताको मौनता कुनै पनि बेला बिस्फोट हुन सक्छ।
Advertisement Area