ड्राइभिङ लाइसेन्स छपाइमा नयाँ सिस्टम सुरु, अब ढिलाइको अन्त्य हुने अपेक्षा

Back to Home
Advertisement Area
काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइमा देखिँदै आएको वर्षौंदेखिको ढिलाइ अन्त्य गर्न सरकारले नयाँ प्रणालीबाट छपाइ सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले साउन १ गतेदेखि लागू गरेको Electronic Driving License & Vehicle Registration System (EDLVRS) मार्फत लाइसेन्स छपाइको काम औपचारिक रूपमा थालिएको हो।  

मन्त्रालयका अनुसार नयाँ प्रणाली अन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३,०८१ वटा लाइसेन्स छपाइ सम्पन्न गरी सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा वितरणका लागि हुलाकमार्फत पठाइएको छ। यसअघि सेवाग्राहीको चाप र पुरानो प्रणालीका कारण लाइसेन्स प्रिन्ट र वितरणमा महिनौंसम्म ढिलाइ हुने गरेको थियो।
नयाँ व्यवस्थामा सेवाग्राहीको सम्पूर्ण विवरण EDLVRS प्रणालीबाट सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्नेछ। त्यहाँ लाइसेन्स प्रिन्ट भएलगत्तै हुलाक सेवामार्फत सम्बन्धित प्रदेशको यातायात कार्यालयमा पठाइने व्यवस्था मिलाइएको छ। यसले बिचको झन्झटिलो प्रक्रिया हटाएको छ।

विभागका अनुसार यो प्रणाली लागू भएपछि नयाँ लाइसेन्स जारी गर्ने प्रक्रिया छिटो हुनुका साथै नवीकरण (Renewal) प्रक्रिया पनि थप सहज हुने अपेक्षा गरिएको छ। साथै, यातायात व्यवस्था विभागले EDLVRS अन्तर्गत सातै प्रदेशका लागि छुट्टाछुट्टै पोर्टल समेत सञ्चालनमा ल्याएको छ, जहाँबाट सेवाग्राहीले आफ्नो प्रदेश अनुसार अनलाइन सेवा लिन सक्नेछन्।
Advertisement Area