कालाशिल्ला देवताको इतिहास:
इतिहास जानकारहरुका अनुसार "तत्कालिन शासकहरुद्वारा पटक-पटक लिइएको अग्नि परीक्षामा सफल श्री मष्टा कालाशील्ला, गुठी देवतालाई सत्यता, अमरवाणी र विश्वसनीय शक्तिले युक्त देवताको रुपमा लिइन्छ।"
१४औं शताब्दीको पूर्वसन्ध्यामा अछामको विमकोट क्षेत्रमा निरौला भण्डारीहरु बसोबास गर्थे। त्यस क्षेत्रका राजा विमकोटे थिए। निरौला भण्डारीको बारीमा लटरम्म आरु फलेका थिए। लटरम्म फलेका आरु विमकोटे राजाका छोराले झारी दिएका थिए। आरु झारेको रिसमा बाजे अमर भण्डारीले धनुषवाण प्रयोग गरि राजकुमारको आँखा फुटाई दिएका थिए। छोराको आँखा फुटी सकेपछि रिसले चुर भई निरौला भण्डारीहरुको खोजी खोजी हत्या गरे। उक्त घटनामा एक जना गर्भवती बज्यै बाँच्न सफल भइन् । उनी ज्यान जोगाउन भागेर छबीस क्षेत्र हुँदै विनायक स्थित कवरसैनमा बस्न पुगिन् । जब राजाले यसको सुइँको पाए, उनले आफ्ना सेनाहरु खटाएर खोजी कार्य तिव्र पारे। कतै नभेटाउँदा अन्तिममा एकजना हुड्केलाई बज्यैको खोजी गर्न पठाए । हुड्के खोज्दै बज्यैको घरमा आइपुग्दा बज्यैले उनलाई एक मुठी मोतिका दाना भिक्षा दिइन् । हुड्केबाट यो मोतिका दाना दिने महिला पक्कै पनि निरौला भण्डारीकी श्रीमती नै हुन् भन्ने लाग्यो। राजालाई खबर सुनाए यो सुन्ने बित्तिकै उनले सेनाको टोलीलाई दलबल सहित मार्न पठाए। मार्न आउने क्रममा हुड्के सहितको सेनाको टोली बज्यै बसोबास गर्ने ठाउँ नकिकैको "पालेवनको ओडार" मा आइपुग्यो। उक्त ओडारमा आइपुगेको चाल पाएपछि बाजे मुसु भण्डारीलाई देवता आउन थाल्यो र बज्यैको आँगनमा कुढी शिल्ला "बुढी घाट" देखा पर्यो । उनले हातमा चामल लिएर चारै दिशातिर छर्के पछि अविरल असिनापानी र चट्याङ पर्न थाल्यो । अविरल असिनापानी र चट्याङका कारण विमकोटे राजाका सम्पूर्ण सेनाहरु मर्न पुगे र बज्यैको ज्यान जोगियो। त्यही दिनदेखि उनको बासस्थान नजिकै मष्टमाण्डौमा बुढि शिल्लाको स्थापना गरेर दुधे मष्टाको पूजा अर्चना सुरु गरियो। त्यसै दिनदेखि आधा दिनका मुसु भण्डारी र
आधाका दिनका धामी हुनपुग्छन् । बाजे मुसु भण्डारीलाई देवता आएपछि धामी थरको रुपमा परिणत हुने परम्परा बस्यो । यसरी मष्टा कालाशिल्ला गुठी देवताको उत्पति भएको इतिहास जानकारहरु बताउँछन् ।
तत्कालिन शासकहरुले पटक-पटक श्री मष्टा कालाशिल्ला गुठी देवताको अग्नि परीक्षा लिएको पाइन्छ । बाजे जसु धामी हुनुभएको समयमा बाइसे चौबीसे राज्य अन्तर्गत बान्नीगढी जयगढ क्षेत्रका तत्कालिन राजाले उहाँलाई पक्राउ गरि जयगढ लगेका थिए। जयगढमा उनले मष्टा कालाशील्लाका धामी हौं भन्ने शक्ति देखाऊ, होइन भने माछौँ भनेर धम्की दिए। बाजे जुसु धामीको अग्नि परीक्षा सुरु गरे। त्यहाँ रहेको सेनाको पल्टनलाई एक माना चामल दिएर पकाउन लगाए। भात पाक्दा ताउलो भरि भात भयो र पल्टनलाई खान पुग्यो। त्यसपछि पिँडालुका पातहरु दिएर तरकारी बनाउन लगाए, ताउलोभरि माछा भयो। त्यही ठाउँमा रहेको पिपलको रुखमा एकसरो धागो लिएर पिङ खेल्न लगाए तर धागो चुँडिएन । यसरी उहाँले देखाउनुभएको शक्ति प्रदर्शनबारे राजा र उनका सेनाहरु प्रभावित भए। उहाँलाई ९९ सय रुपैयाँ कर मिनाहा गरियो र पश्चिम गाधि मेरो र पूर्व गाधि श्री मष्टा कालाशिल्लाको क्षेत्राधिकार दिइयो । सेनालाई घरमा पुऱ्याउन लगाइयो। बाजे जसु धामी घरमा पुगिसके पछि सम्पूर्ण गाउँवासीहरुले खुशीयाली मनाए। त्यस पछि मष्टा काला शिल्ला गुठी देवताको ख्याति फैलिएर अछाम, दैलेख, कालिकोट, जुम्ला, सुर्खेत, बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बाँके र बर्दिया लगायतका ठाउँबाट श्रद्धालु भक्तजनहरु यस देवताको पूजाआजा गर्न आउँछन् । हालको पञ्चदेवल विनायक न.पा.-२, माँडुमा "लेईठेले चिनेको माँडु र प्रतापेले गइठेका शिला" को रुपमा उक्त मन्दिर अवस्थित छ ।
समयक्रम सँगै अनेकौं किसिमका अग्नि परीक्षाहरु पार गर्दै आजसम्म यस देवताका १४ जना धामी भइसकेका छन् । प्रथम धामी मुसु भण्डारी (धामी) हुनुहुन्थ्यो। वर्तमान समयमा १४औं धामी शेर बहादुर धामी हुनुहुन्छ । वि.सं. २००२ सालमा जन्मिनु भएका उहाँ ८० वर्षका हुनुभयो। अजय शक्तिका कारण १० वर्षको अन्तरालमा दिइने बीससयको ४ वटा भोग खाई सक्नुभएको छ । विशेष गरि श्रावण चतुर्दशी (बढीमालिका माईको पूजा अर्चना) को दिन आगामी श्रावण २३ गते मष्टामाण्डौ पर्वमा पाँचौं बीससयको भोग लाग्दैछ उक्त भोगमा सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई कालाशिल्ला देवतालाई बली चढाउन बोका सहित स-परिवार उपस्थित भई प्रसाद ग्रहण गरिदिनुहुन हार्दिक आमन्त्रण गर्दछौं ।
प्रस्तुतकर्ताः टंक बहादुर धामी
श्री मष्टा कालाशिल्ला गुठी देवता परिवार, विनायक, अछाम
Comments
Post a Comment
कृपया शिष्ट भाषामा मात्र टिप्पणी गर्नुहोस्। अपमानजनक वा स्पाम टिप्पणी स्वीकृत हुने छैन।